[dropcap]यो[/dropcap] नियम विश्वव्यापी हो की गैरकानुनी काम गर्न मनाही छ, गरेमा तोकिएबमोजिमको कारवाहि हुन्छ । तर, नेपाल यस्तो देशको उदाहरण बन्दैछ जहाँ ‘जसको शक्ति उसको भक्ति’ चल्छ । यसको जिम्मेवार अरु कोहि होइन नियम पालन गर्नुपर्ने यस देशका नागरिक नै हो । जब नागरिक आँफैमा सचेत हुँदैन त्यतिबेला राज्य एक्लैले कुनै प्रणाली स्थापित गर्न सक्दैन ।
चलचित्रमा यस्ता कैयन दृश्य तथा संवादहरु हेर्न पाईन्छ जहाँ खुलेआम गैरकानुनी वा सार्वजनिक स्थलमा वर्जित गरिएका कार्यहरु भईरहेका हुन्छन् । चलचित्र बनाउँदा त्यस्ता दृश्यबाट सकारात्मक सन्देश दिने अभिप्राय राखिन्छ तर निर्देशकिय अवौद्दिकता भनौँ या ‘बाल मतलब’को मान्यताले नागरिक जो लगभग दुई घण्टाको लागि चलचित्र हलमा दर्शक बनेका हुन्छन् उनिहरुले सहि शिक्षा र चेतना पाउन सकेका छैनन् । यस्ता दृश्यमा कैँची चलाउने राज्यले तोकेको निकाय ‘केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)’ले समेत वेवास्ता गर्दै आएको छ ।
द्विदेशिय कुटनितिक सम्बन्धमा तगारो बन्न सक्ने भन्दै स्वाभिमानी दृश्यमा कैँची चलाउने बोर्डको आँखा यतिबेला खुलेको छ जतिबेला अर्को साता रिलिज हुने चलचित्र ‘दमदार’को जाँच गरियो । ‘दमदार’का केहि दृश्यमा हेलमेट नलगाईकिन मोटरसाइकल हाँकीरहेका युवाको एक जमात छ जुन आँफैमा गैरकानुनी दृश्य छ तर सबैजसो चलचित्रमा यसैगरी देखाईने यस्तो दृश्यमा अब सुधार आउँदैछ । यो क्रम ‘दमदार’बाट सुरुआत भएको छ । ‘दमदार’ले कसैको आदेशबिना दृश्यले नकारात्मक सन्देश जाने भन्दै ”मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु अनिवार्य छ’ भन्ने सन्देश राखेको छ । तर, समितिले प्रदान गर्ने प्रमाणपत्रमा भने ‘धुम्रपान’को कुरालाई मात्र उल्लेख गरेको छ(प्रस्तुत प्रमाणपत्रको दाहिने भागमा रातो घेराभित्र) ।
‘हामीले आफुखूशी हेलमेट लगाउनुपर्छ भन्ने उल्लेख गरेका थियौँ, यस्तो महत्वपूर्ण कुरा समेत सेन्सरले महत्व दिएको रहेनछ’ निर्माता सुमन बिष्टले ठुलोपर्दा डटकमसँग भने, ‘दमदारबाट यो क्रम सुरु भएको छ । बोर्ड पदाधिकारीले यो कुरा नोट गरिसकेका छन् । अब आउने सबै चलचित्रमा यस्तो प्रकारको सन्देश आउनेछ’ ।
‘दमदार’ले P/G प्रमाणपत्र पाएको छ । यो चलचित्र हेर्न नाबालकको हकमा साथमा आविभावक अनिवार्य छ । रेखा थापा, सविन श्रेष्ठ, कमलकृष्ण, बाशु पुडासैनी लगाएतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतम हुन् । गौतम हाल पूर्वका बिभिन्न जिल्लामा ‘दमदार’ प्रचार-प्रसारमा व्यस्त रहेका छन् ।





