
काठमाडौं – शुक्रवारदेखि नेपालभर प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘दुखी आत्मा’ युएईमा प्रतिबन्धित भएको छ । युएईको सेन्सर बोर्डले यसलाई प्रदर्शनको अनुमति नदिएपछि त्यहाँका दर्शकले फिल्म हेर्नबाट वञ्चित भएका छन् ।
निर्देशक तथा लेखक दीपेन्द्र लामाका अनुसार युएईमा दुई पटक सेन्सर गर्दा पनि पास हुन सकेन । पहिलो पटक केही दृश्य हटाउन भनिएको थियो । तर, दोस्रो पटक सेन्सरमा लैजाँदा पनि चलचित्रले अनुमति पाएन ।
युएईको नियमअनुसार मिडिया कन्टेन्टको सीमाभित्र नपरेका कारण चलचित्र प्रतिबन्धित भएको हो । युएईमा चलचित्र रिलिज हुन नसकेपछि बहराइनमा पनि प्रदर्शन नहुने भएको छ । किनभने युएईको सेन्सरको निर्णयलाई बहराइनमा पनि मान्यता दिइन्छ । यद्यपि, यो चलचित्र कतारमा भने बिना कुनै काँटछाँट प्रदर्शन भइरहेको छ ।
‘दुखी आत्मा’ले ‘ईडी’ रोगबाट पीडित पुरुषहरूको कथा भन्छ । दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतका कलाकारहरूको अभिनय रहेको चलचित्रलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।