
काठमाडौं – फागुन १४ गतेबाट प्रदर्शनमा आउन तयारी गरिरहेको चलचित्र ‘मायावी’को भजन गीत ‘माता विन्दवासिनी’ सार्वजनिक भएको छ । एसडी योगीको सङ्गीत र स्वर रहेको यस गीतमा राम अविरल विष्टले शब्द भरेका छन् ।
गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाईँ, करिश्मा श्रेष्ठ, कलाकार सुशील सिटौला लगायतलाई फिचर गरिएको छ । विशेष गरी विन्दवासिनी मन्दिर परिसरमै छायाङ्कन गरिएको यो गीत दर्शकमाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको ‘मायावी’ मा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डङ्गोल, रमा प्रसाईँ, दीपेन्द्र सिम्खडा, सङ्गीता सिलवालसहित नव–नायक समीम खानको प्रमुख भूमिका रहेको छ ।
राजु विक्रम थापाको सिनेमाटोग्राफी रहेको चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका छन् । चलचित्रमा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ। यसअघि सार्वजनिक गरिएको ट्रेलर दर्शकमाझ लोकप्रिय बनेकोले चलचित्रले प्रदर्शनको पहिलो दिन नै राम्रो सुरुआत गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रका सह-निर्माताका रूपमा राजु पराजुली र सुमित वली छन् भने प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेका छन् । ‘मायावी’ मा क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जनको समेत लगानी रहेको छ ।