‘के घर के डेरा : घर नं २’का घरबेटी को हुन् ?



काठमाडौं – नेपाली चलचित्र उद्योगमा सामाजिक कथावस्तुमा आधारित उत्कृष्ट चलचित्रहरू ‘पशुपतिप्रसाद’, ‘आमा’ र ‘चिसो मान्छे’ निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र के खनाल आफ्नो नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ लिएर दर्शकमाझ आउँदैछन् । यो चलचित्र आगामी जेठ २ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ ।

चलचित्र ‘के घर के डेरा : घर नं २’ ले समाजमा व्याप्त घर र डेराको बसाइबीचको भिन्नता र त्यसले मानिसको जीवनमा पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गर्ने निर्देशक खनालले बताएका छन् । घर र डेराका कारण समाजले निर्धारण गर्ने सामाजिक हैसियत र त्यसले सिर्जना गर्ने आरोह अवरोहको कथालाई चलचित्रले उजागर गर्नेछ । निर्देशक खनालले थप जानकारी दिँदै भने, “घर र डेराको कारण जतिसुकै असमान व्यवहार भए पनि जीवनको अन्त्यमा त्यसको परिणाम के हुन्छ भन्ने विषयलाई पनि चलचित्रले समेट्नेछ ।”

चलचित्रको कथावस्तु घर र डेराको वरिपरि घुमे पनि यसमा को डेरावाल र को घरभेटी भन्ने कुरा अहिले नै खुलाइएको छैन । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी र प्रकाश घिमिरेजस्ता लोकप्रिय कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्रको सार्वजनिक पोस्टरमा सबै कलाकारहरूको उपस्थिति समान देखिए पनि एउटा पोस्टरमा खगेन्द्र लामिछाने साइकल डोर्‍याइरहेको दृश्यले उनी डेरावालको भूमिकामा हुन सक्ने अनुमान लगाउन सकिन्छ । यद्यपि, निश्चल बस्नेत वा आर्यन सिग्देलमध्ये को घरभेटीको भूमिकामा छन् भन्ने कुरा अझै रहस्यमै छ ।

निर्देशक दीपेन्द्र के खनालले यो चलचित्र अघिल्लो ‘के घर के डेरा’ को सिक्वेल नभएको स्पष्ट पारेका छन् । तर, चलचित्रको मूल कथा भने घर र डेराकै विषयमा आधारित रहेको उनले बताए । यस चलचित्रको कथा चर्चित साहित्यकार बुद्धि सागरले लेखेका हुन् र यो उनको पहिलो चलचित्र लेखन अनुभव हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu