
काठमाडौं – आगामी जेठ २३ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जन्ते बाख्रो’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । कमेडी, रहस्य र ग्रामीण परिवेशको मिश्रण रहेको यो पोस्टरले चलचित्रका मुख्य कलाकारहरूलाई एकसाथ प्रस्तुत गरेको छ । पोस्टरको अग्रभागमा गुलाबी रङको चस्मा लगाएको एउटा बाख्रोलाई देख्न सकिन्छ, जसले दर्शकमा कौतूहल जगाएको छ । रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको यो सिर्जनात्मक पोस्टरले चलचित्रको हास्य र रहस्यमय कथालाई सङ्केत गर्छ ।
पोस्टरमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरूलाई विभिन्न भावभङ्गीमा देख्न सकिन्छ, जसले चलचित्रमा रोचक घटनाक्रम र हास्यपूर्ण मोडहरू हुने अनुमान लगाउन सकिन्छ । बाख्रोलाई मुख्य स्थान दिनुले चलचित्रको कथावस्तुमा विशेष र मनोरञ्जक भूमिका रहने देखिन्छ ।
सिमोश सुनुवारद्वारा निर्देशित ‘जन्ते बाख्रो’ मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ । यसअघि सार्वजनिक भएका चलचित्रका दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकहरूले निकै मन पराएका छन् ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्र सामाजिक कमेडी जनरामा आधारित छ । सन्तोष गौतमले निर्माण गरेको यो चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।