
काठमाडौं – शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘जार’को भव्य प्रिमियर शो आयोजना गरिएको छ । नेपाली भाषीहरूको बाहुल्यता रहेको भारतका सिक्किम र सिलिगुडीमा सफल प्रिमियरपछि, मङ्गलवार ललितपुरको लबिम मलस्थित क्यूएफएक्समा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मगर समुदायको परम्परागत संस्कृति झल्काउने मनमोहक नृत्यबाट सुरु भएको प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, ललितपुरका सांसद उदय शमशेर जबरा, चर्चित अभिनेत्री मनीषा कोइराला, नेतृ हिसिला यमी, लोकप्रिय अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशकहरू प्रदीप भट्टराई, ज्ञानेन्द्र देउजा, दीपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारहरूको उल्लेख्य सहभागिता थियो ।

चलचित्र हेरिसकेपछि उपस्थित अधिकांशले ‘जार’ को प्रशंसा गरेका छन् । संस्कृति, परम्परा, बहादुरीका गाथासँगै प्रेम र वीरतालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको भन्दै चलचित्रको खुलेर तारिफ गरिएको छ । विशेष गरी चलचित्रमा प्रयोग गरिएको आधुनिक प्रविधि (भीएफएक्स) र कर्णप्रिय गीतसङ्गीतको सबैले सराहना गरे ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इन्द्रबहादुर राईको कालजयी कथामा आधारित दुई सय वर्ष पुरानो समयको चित्रण गरेको ‘जार’ एक मौलिक चलचित्र बनेको बताए । उनले तत्कालीन समाज र नेपालमा जार प्रथाको ऐतिहासिक पक्षलाई बुझ्न नयाँ पुस्ताले यो चलचित्र हेर्नै पर्ने सुझाव दिए । ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ लाई एक पृथक् र पूर्ण मौलिक चलचित्रको संज्ञा दिए । अभिनेत्री मनीषा कोइरालाले ‘जार’ नेपाली चलचित्र उद्योगको विकासको प्रमाण भएको बताइन् ।

प्रिमियरमा उपस्थित दर्शकहरूले निर्देशक लामा र कलाकारहरू सौगात मल्ल, अनुपविक्रम शाही तथा गीताञ्जली थापाको सशक्त अभिनयको खुलेर प्रशंसा गरे ।