‘ऊनको स्वीटर’को आक्रामक ओपनिङ, दोस्रो दिन बिहानैदेखि हाउसफुल



काठमाडौं – हिजो शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक ओपनिङ गरेको छ। चलचित्र रिलिजको पहिलो दिन देशभरका हलहरूमा दर्शकको उल्लेखनीय चाप देखिएको थियो। काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन हलहरूसम्म अधिकांश शोमा उल्लेखनीय उपस्थिति देखिएको वितरकले जनाएका छन्।

शुक्रबार बिहानैदेखि सुरु भएको दर्शकको यो चाप राती अबेरसम्म कायम रह्यो। अधिकांश हलहरूमा प्रायः शोहरू हाउसफुल भएका थिए। कलाकारहरूले पनि उपत्यकाका विभिन्न हलहरूमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए र प्रतिक्रियाका लागि धन्यवाद व्यक्त गरेका थिए।

पहिलो दिनको सफलता देखेर देशभरका धेरै हलहरूले शनिबारका लागि शो संख्या बढाएका छन्। शनिबार बिहानैदेखि अधिकांश हलहरू हाउसफुल देखिएको वितरक गोविन्द शाहीले जानकारी दिए। उनका अनुसार चलचित्र हाल ३०० भन्दा बढी हलमा प्रदर्शन भइरहेको छ।

दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्र ‘ऊनको स्वीटर’लाई शुक्रबार र शनिबारको कलेक्सन एकैसाथ सार्वजनिक गरिने बताइएको छ। पहिले नै प्रिमियर शोमा विशिष्ट अतिथि तथा आमदर्शकबाट प्रशंसा बटुलिसकेको यो चलचित्रले नेपाली समाज, संस्कृति र प्रेमकथालाई समेट्ने प्रयास गरेको छ।

नवीन चौहानले निर्देशन गरेको यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतको अभिनय छ। गीत, ट्रेलर र टिजरमार्फत उत्सुकता जगाइसकेको ‘ऊनको स्वीटर’ले दोस्रो दिनको बिहानै देखिएको दर्शकको साथबाट बक्स अफिसमा अझ सशक्त यात्राको सङ्केत दिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu