प्रधानमन्त्री ओलीद्वारा ‘सिनेपाः’ स्टुडियो निर्माण सुरु भएको घोषणा



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बनेपामा निर्माण हुन लागेको ‘सिनेपाः’ नामक इनडोर फिल्म छायाङ्कन स्टुडियोको निर्माण कार्य सुरु भएको घोषणा गरेका छन् । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक समारोहमा उनले ३९ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त स्टुडियो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणमा सरकारको पूर्ण सहयोग रहने स्पष्ट गर्दै यस दिनलाई नेपाली सिने क्षेत्रको युग परिवर्तनको सुरुआतको रूपमा लिन सकिने बताए । साथै, उनले स्टुडियोमा सिनेमा छायाङ्कनसँगै डबिङ र गायन स्टुडियो पनि समावेश गर्न सुझाव दिए ।

४१ रोपनी क्षेत्रफलमा बन्ने सो स्टुडियो बनेपा नगरपालिका वडा नं. १० र १३ मा अवस्थित प्राकृतिक रमणीय स्थानमा निर्माण गरिनेछ । प्रधानमन्त्री ओलीले यसअघि पालुङटार र दोलखा लगायत स्थानमा स्टुडियो वा फिल्म नगरी बनाउने प्रस्ताव राखेको तर कार्यान्वयनमा नआएको स्मरण गरे ।

समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो स्टुडियो निर्माणमा सरकारको पूर्ण सहयोग रहने जानकारी दिँदै चलचित्र ऐन, मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल विधेयक संसद्‌मा पुगेको बताए । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले स्टुडियोका लागि जग्गा उपलब्ध गराउने जनप्रतिनिधिहरूलाई धन्यवाद दिए ।

वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार नीर शाहले स्टुडियोमा कृत्रिम बुद्धिमत्ता (एआई) र अत्याधुनिक प्रविधि समावेश गर्न सुझाव दिए भने २०२६ सालको चलचित्र ऐनले अहिलेको समयअनुसार फिल्मलाई स्पष्ट परिभाषित गर्न नसकेको टिप्पणी गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले रियल टाइम बक्स अफिस प्रणाली आगामी साताबाट सुरु हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu