‘ऊनको स्वीटर’ चौथो हप्तामा प्रवेश: ग्रस कलेक्सन १० करोड नाघ्यो, बन्यो २०८२ को पहिलो सुपरहिट



काठमाडौं – नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसक्दा पनि चलचित्रले देशभर १०० भन्दा बढी शो पाएको छ, जुन कुनै पनि नेपाली चलचित्रका लागि उल्लेखनीय मानिन्छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ । देशभरका सिनेमा घरहरूमा लगातार हाउसफुल शो दिँदै आएको चलचित्रले दर्शकलाई कथावस्तु, संवाद, अभिनय र निर्देशनका हिसाबले तानेको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । समीक्षकदेखि सर्वसाधारण दर्शकसम्मबाट पाइरहेको प्रशंसा र सकारात्मक समीक्षाले गर्दा चलचित्रको चौथो सातासम्मको यात्रालाई उल्लेखनीय बनाएको हो ।

हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन, तर विदेशमा पनि चलचित्रले लगातार राम्रो प्रदर्शन गरिरहेको छ । ‘ऊनको स्वीटर’ नेपाली चलचित्र उद्योगका लागि पछिल्लो समयको व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्र बन्न पुगेको छ ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो चलचित्रलाई सुपरहिटको ट्याग दिएको छ । यस्तै, वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र पनि ‘ऊनको स्वीटर’ बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu