
काठमाडौं – फरक धारको कथावस्तु, विश्व स्तरीय भिजुअल इफेक्ट्स र सशक्त एक्सनको त्रिवेणीका साथ नेपाली चलचित्र ‘महाकाव्य’ निर्माणको सङ्घारमा पुगेको छ । खुसी फिल्म्सको ब्यानरमा बन्न लागेको यो महत्त्वाकाङ्क्षी परियोजनाको प्री-प्रोडक्सन कार्यले यति बेला तीव्रता पाएको निर्माण पक्षले जनाएको छ ।
म्युजिक भिडियो निर्देशक मदन खड्काको डेब्यु चलचित्रका रूपमा ‘महाकाव्य’ रहनेछ भने एक्सन निर्देशनको बागडोर भने शुक्रराज शाहले सम्हाल्नेछन् । यसको थिम पोस्ट हालै सार्वजनिक गरिएको छ, जहाँ दुई भालाको टक्कर देखाइएको छ ।
ऐतिहासिक, पौराणिक र आधुनिक फ्यान्टेसीको अद्वितीय संयोजनले यस चलचित्रलाई नेपाली चलचित्रको इतिहासमै नयाँ युगको थालनी गर्ने निर्माण पक्षले दाबी गरेको छ । यसमा कलाकारहरूको भने छनौट भइसकेको छैन । निर्माण टिमका अनुसार, चलचित्रमा एक नयाँ कलाकारलाई मुख्य भूमिकामा प्रस्तुत गरिनेछ । यस भूमिकाका लागि ती कलाकारले शारीरिक रूपमा ठुलो रूपान्तरणका साथै एक्सन र नृत्यमा गहन प्रशिक्षण लिएका छन् र हाल अन्तिम तयारीमा जुटेका छन् । यसको छायाङ्कन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी छ ।