‘ए मेरो हजुर ५’मा अनमोल केसी अनुबन्धित, सुहानासँग तेस्रो सहकार्य



काठमाडौं – चलचित्र ‘ए मेरो हजुर ५’ मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । निर्माण टिमले सोमबार साँझ उनीसँग औपचारिक सम्झौता गरेसँगै यसअघि चलचित्रमा अर्का एक अभिनेताको सहकार्य हुने भनी चलेको अड्कलबाजीमा पूर्णविराम लागेको छ ।

अभिनेता केसीले स्वयं सामाजिक सञ्जालमार्फत आफू चलचित्रमा जोडिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘लामो समयको विश्रामपछि एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । ‘जेरी अन टप’, ‘बाटुलो जुन’ र ‘ए मेरो हजुर ५’ मार्फत नेपाली फिल्म उद्योगमा नयाँ जोसका साथ हजुरहरूमाझ उपस्थित हुन लागेको यो खुसीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु ।’

निर्देशक झरना थापाले पनि सामाजिक सञ्जालमार्फत अभिनेता केसीलाई स्वागत गरेकी छन् । ‘मेगास्टार अनमोल केसी भाइलाई ‘ए मेरो हजुर ५’ मा स्वागत छ । ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ पछि हामी तेस्रो पटक सहकार्य गर्दैछौँ । यो सहकार्यले भविष्यमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्दै ‘ए मेरो हजुर ५’ लाई उत्कृष्ट बनाउन कुनै प्रयास बाँकी नराख्ने प्रण गर्दछौँ,’ उनले उल्लेख गरेकी छन् ।

आगामी असोजबाट छायाङ्कन सुरु हुने यस चलचित्रमा अनमोल केसीको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ । यसअघि पनि उनीहरूले ‘ए मेरो हजुर’ को तेस्रो र चौथो शृङ्खलामा एकसाथ काम गरिसकेका छन् । यो जोडीलाई पर्दामा पुनः एक पटक हेर्न दर्शकहरू उत्साहित देखिएका छन् । ‘ए मेरो हजुर ५’ को छायाङ्कनमा जानुअघि अनमोलले ‘बाटुलो जुन’ र सुहानाले ‘परालको आगो’ को छायाङ्कन पूरा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu