
काठमाडौं – लामो समयदेखि अमेरिकी बसाइमा रहेका अभिनेता जीवन लुइँटेलले करिब एक दशकपछि अभिनयमा पुनरागमन गर्ने भएका छन् । यस पटक उनी ठुलोपर्दामा नभई रङ्गमञ्चमा देखिनेछन् । कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको नाटक ‘शिरिषको फूल’ मार्फत लुइँटेलले कला यात्रामा नयाँ अध्याय सुरु गर्न लागेका हुन् । यस नाटकमा उनले प्रमुख पात्र सुयोगवीर को भूमिका निर्वाह गर्नेछन् ।
साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यस नाटकलाई कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले लेखन तथा निर्देशन गरिरहेकी छन् । कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिइओ प्रकाश पुरीले दिएको जानकारी अनुसार लुइँटेल नाटक मञ्चनकै लागि आगामी साता नेपाल आउने कार्यक्रम रहेको छ ।
पुरीले लुइँटेललाई सुयोगवीरको भूमिकाका लागि छनोट गर्नुको कारण स्पष्ट पार्दै भने, “हामीलाई साहित्यमा गहिरो पकड र अभिनयमा परिपक्वता झल्काउने, उमेर र अनुभवले खारिएको पात्रको आवश्यकता थियो । जीवनजी यी सबै मापदण्डमा उपयुक्त देखिएकाले हामीले उहाँलाई प्रस्ताव गर्यौँ ।” नाटकको अर्को महत्त्वपूर्ण पात्र सकम्बरी को भूमिकामा को रहनेछन् भन्नेबारे भने अहिलेसम्म खुलाइएको छैन ।