
काठमाडौं – लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा छायाङ्कनमा सक्रिय रहँदै आएका निर्देशक रन्धिर श्रेष्ठको लेखन र निर्देशनमा तयार भएको चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र आगामी मङ्सिर १२ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउने भएको छ ।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा एकसाथ रिलिज हुनेछ । यो चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि विशेष भूमिका रहेको छ ।
एक्सन जनरामा निर्माण गरिएको ‘कुम्भ’ मा नवनायक अशोक आर्यनका साथै वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेलको अभिनय रहेको छ । यस्तै, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्का पनि प्रमुख भूमिकामा देखिनेछन् ।
चलचित्रको छायाङ्कन निर्देशक श्रेष्ठले स्वयं गरेका हुन् भने द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन् । रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह यस चलचित्रका निर्माता हुन् । ईश्वर वल्लभ उप्रेती कार्यकारी निर्माताका रूपमा रहेका छन् । चलचित्रको सम्पादन सन्देश शाह र ध्रुवराज पराजुलीले संयुक्त रूपमा गरेका छन् । ‘कुम्भ’ को वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ ।