रोशन दासको निर्देशनमा बनिरहेको चलचित्र ‘प्रतिवैरम’को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ । मधेशको कथामा आधारित यो चलचित्रको गीत चलचित्र विकास कम्पनीको सेटमा दुई दिनसम्म खिचिएको हो । सुरेन बसेलको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ ।

यो चलचित्रमा सम्राट दास, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतको अभिनय रहेको छ । यसमा निर्देशक दास स्वयंको कथा छ भने पटकथा युवराज भट्टराईले तयार पारेका हुन् ।
किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टसँगको सहकार्यमा रेज इन्टरटेनमेन्टले निर्माण गरेको ‘प्रतिवैरम’ मधेशको कथामा आधारित छ । निर्देशक दासका अनुसार मधेश केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु-बहिनीबीचको भावनात्मक सम्बन्धको कथा चलचित्रमा छ ।
यो चलचित्रको आधाभन्दा बढी छायांकन सम्पन्न भइसकेको छ भने बाँकी छायांकन बर्खा सकिएपछि गरिने जनाइएको छ । चलचित्रलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।