आगामी भदौबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘जदौ’मा कलाकारको लाइनअप बलियो हुँदै गएको छ । अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्धित भइसकेको चलचित्रमा अब अर्की अभिनेत्री ऋचा शर्माको प्रवेश भएको छ । उनले मंगलबार चलचित्र सम्झौता गरेकी हुन् ।

यो चलचित्रमा ऋचाको जोडी मुकुनसँग बाँधिने जनाइएको छ । उनीहरुबीच पहिलो पटक सहकार्य हुन लागेको हो । ऋचाले नीतिसँग भने चलचित्र ‘कोशेढुंगा’मा काम गरिसकेकी छन् । चलचित्रमा अझै केही स्थापित कलाकारलाई भित्र्याउने तयारीमा निर्माण पक्ष रहेको छ ।
अन्तरजातीय प्रेमकथामा आधारित भएर बन्न लागेको चलचित्रलाई कसले निर्देशन गर्नेछन् भन्नेबारे जानकारी गराइएको छैन । यद्यपि, निर्देशकको टुंगो लागिसकेको बताइएको छ । काजी लिम्बूको लेखन रहेको ‘जदौ’को निर्माणमा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टले सहकार्य गरेका छन् ।
रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री सह-निर्माता रहेको चलचित्रमा बाबुल गिरीको संगीत रहनेछ । दाङ र प्यूठान जिल्लामा छायांकन गर्न लागिएको यो चलचित्रलाई यसै वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।






