प्रिमियरमा ‘यो मन त मेरो नेपाली हो’को कथावस्तुको प्रशंसा



नेपाली भाषा जोगाउनुपर्ने कथावस्तुमा आधारित चलचित्र ‘यो मन त मेरो नेपाली हो’को प्रिमियर बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको छ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रिमियरमा चलचित्रकर्मीदेखि अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । प्रिमियरमा अधिकांशले चलचित्रको कथावस्तुको प्रशंसा गरेका छन् ।

निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताए । चलचित्रले अहिलेको पुस्तालाई नेपाली भाषाप्रति जिम्मेवार बनाउने सन्देश दिएको उनको भनाइ छ । कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा र नेपाली भाषाको महत्त्व बुझाउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ सम्पूर्ण नेपालीले हेर्नै पर्ने चलचित्र भएको बताए ।

निर्देशक अशोक शर्माले चलचित्रको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने चलचित्र बनेको भन्दै यसको विषयवस्तुमा प्रशंसा गरेकी थिईन् । सञ्चारकर्मी सुशील नेपालले यस्ता चलचित्रलाई राज्यले पूर्ण कर छुट दिनुपर्ने बताए ।

प्रिमियरमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशकहरू राजेन्द्र सलभ, ऋषि लामिछाने, सशस्त्र प्रहरीका महानिरीक्षक वंशीराज दाहाल, पत्रकार टीकाराम यात्री, गायक बद्री पगेनी, गायिका राधिका हमाल, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, पूर्व सभासद महेन्द्र लिम्बू लगायतको पनि उपस्थिति रहेको थियो ।

मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको ‘यो मन त मेरो नेपाली हो’मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् । यो चलचित्रको निर्माण ज्ञान बहादुर प्रधान (रोशन)ले गरेका हुन् । चलचित्रको देशभरका हलमा बुकिङ खुला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu