गत वर्ष प्रदर्शन भएको चलचित्र ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘एक्का तीन’ राखिएको छ । शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी गराइएको हो । सुमन गजमेरको लेखन रहेको यो चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा पनि गरिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआइ)बाट बनाइएको थिम पोस्टरमा एक महिलासहित दुई पुरुष पात्र प्रस्तुत छन् । तर, उनीहरुको अनुहार देखाइएको छैन । उनीहरुको पृष्ठभूमिमा ठूलो विष्फोट भएको देखिन्छ । आकाशमा हेलिकोप्टर उडिरहेको छ । बदलाको कथामा आधारित भएर ‘एक्का तीन’ बन्न लागेको हुनसक्ने पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।
जुना फिल्म्सको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रको मुख्य भूमिकामा पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । उनलाई दुई महिनाअघि चलचित्रको मुख्य भूमिकामा अनुबन्धित गरिएको थियो । अन्य मुख्य पात्रहरुको बारेमा भने जानकारी गराइएको छैन । यो चलचित्रको दोस्रो श्रृंखला पनि निर्माण गर्ने योजनामा निर्माण पक्ष रहेको छ ।
यसपटक चलचित्रमा कथासहित एक्सन र सस्पेन्स बलियो हुने निर्देशक रुपेशको भनाइ छ । आफूले यसअघिका चलचित्रमा गरेका कमी-कमजोरीलाई सच्च्याएर यो चलचित्र उत्कृष्ट बनाउने उनको अठोट छ । जुना फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्रको छायांकन आगामी तिहारपछि सुरु हुने जनाइएको छ । हाल चलचित्रको प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।






