
काठमाडौं – नयाँ र फरक स्वादको प्रेम कथा लिएर ‘मुनामदनको ब्रेकअप’ नामक चलचित्र निर्माण हुने भएको छ। पत्रकारिता पृष्ठभूमिका परिचित नामहरू दीपेन्द्र लामा (निर्देशक), सामीप्यराज तिमल्सेना (पटकथा लेखक) र श्रीधर पौडेल (कार्यकारी निर्माता) को त्रिकोणात्मक सहकार्यमा यो चलचित्र बन्न लागेको हो। यसअघि ‘गोपी’ चलचित्रमा सँगै काम गरिसकेका यी तीन जनाको पुनः सहकार्य हुन लागेको हो।
चलचित्रका लागि नायकको रूपमा राज कटुवाल अनुबन्धित भइसकेका छन्। हालै प्रदर्शनमा आएको ‘नरसिंहाः अवतार’ मा उनको कामको चर्चा भएपछि बजारमा राजको माग बढेको छ। ‘मुनामदनको ब्रेकअप’ मा काम गर्न पाउनुलाई लिएर राज निकै उत्साहित देखिएका छन्। निर्देशक दीपेन्द्र लामाका अनुसार, चलचित्रको पटकथा सुहाउँदो भएकाले राजलाई प्रमुख भूमिकामा लिइएको हो। बाँकी कलाकार छनोटको प्रक्रिया जारी रहेको र कथा तथा चरित्रको मागअनुसार कलाकार चयन गरिने निर्माण पक्षले जनाएको छ।
निर्देशक लामाले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘२ नम्बरी’, ‘नाङ्गो गाउँ’ र ‘दुखी आत्मा’ जस्ता सफल चलचित्रहरू निर्देशन गरिसकेका छन्। ‘मुनामदनको ब्रेकअप’ लाई पनि पूर्ण मनोरञ्जनात्मक बनाउने उनको लक्ष्य छ। चलचित्रका लेखक सामीप्यराज तिमल्सेनाले यो चलचित्र ग्रामीण परिवेशमा आधारित एक फरक प्रेमकथा हुने बताएका छन्। अहिले दर्शकलाई हलसम्म तान्न निकै चुनौतीपूर्ण रहेको स्विकार्दै, उनले ‘मुनामदनको ब्रेकअप’ को पटकथामा निकै मेहनत गरिएको जानकारी दिए।
चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले यसको छायाङ्कन कास्कीको ग्रामीण भेगमा हुने बताए।





