
काठमाडौं – निर्देशक कृषा चौलागाईंको आगामी चलचित्र ‘जहाजैमा’मा अभिनेत्री वर्षा सिवाकोटी औपचारिक रूपमा अनुबन्धित भएकी छन्। शनिवार निर्माण पक्षसँगको सम्झौतासँगै उनी यस प्रोजेक्टको हिस्सा बनेकी हुन्।
चलचित्रको कथा र निर्माण टिमको व्यावसायिकताबाट प्रभावित भएर आफू यसमा जोडिन सहमत भएको सिवाकोटीले बताइन्।
सिवाकोटीको आगमनअघि नै हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, अभिनेता सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया यस चलचित्रमा अनुबन्ध भइसकेका छन्। अन्य कलाकारहरूको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माण पक्षले जानकारी दिएको छ।
अभिमन्यू निरवीले कथा लेखेको यस चलचित्रको छायाङ्कन निर्देशनको जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। उज्ज्वल गुरागाईँको निर्माण र यूएनए प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्ममा केपी फिल्म्सले सहकार्य गर्नेछ।
‘जहाजैमा’ को मुख्य छायाङ्कन आगामी भदौ महिनाबाट जापानमा सुरु हुनेछ। आगामी फागुन १ गतेदेखि ‘जहाजैमा’ देशभर प्रदर्शनमा आउने जनाइएको छ।




