‘मोहर’को प्रचारमा पल र बेनिशा बुटवलमा



बुटवल – यही साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मोहर’को प्रचारप्रसारका लागि नायक पल शाह र नायिका बेनिशा हमाल यति बेला पश्चिम नेपालको बुटवल पुगेका छन्। चलचित्रको ‘झुम झुम’ बोलको गीतले दर्शकको मन जितिरहेका बेला, पल र बेनिशा सोही गीतमा दर्शकहरूसँगै नाचेर चलचित्रको प्रचार गरिरहेका छन्।

बुटवलमा रहँदा, ‘मोहर’ को टोलीले विभिन्न क्याम्पस र विद्यालयहरूमा पुगी दर्शक तथा विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्‍यो। यस क्रममा चलचित्रका लेखक तथा निर्देशक ओम प्रतीक, निर्माता चुम्बन जङ्ग शाही, मुख्य सहायक निर्देशक गिरिराज घिमिरेसहित नायक पल शाह र नायिका बेनिशा हमाल उपस्थित थिए।

अन्तरक्रिया कार्यक्रममा नायक पल शाहले ‘मोहर’ एउटा पारिवारिक कथामा आधारित चलचित्र रहेको र यो सबै परिवारले हेर्न मिल्ने बताए। उनले आफ्ना प्रशंसकहरूसँगको भेटघाटमा भने, “एउटा कलाकारले कमाउने भनेको दर्शकको माया हो। यो माया सजिलै कमाउन सकिँदैन।” चलचित्र टोलीले कलेज र स्कुलका साथै रोट्रयाक्टमा आबद्ध विभिन्न व्यक्तिहरूसँग पनि भेटघाट र छलफल गर्‍यो।

पल र बेनिशालाई प्रत्यक्ष भेट्न पाउँदा बुटवलका दर्शकहरूमा निकै उत्साह देखियो। उनीहरूले ‘मोहर’ को प्रदर्शनको व्यग्र प्रतीक्षा गरिरहेको बताए।

‘देउकी’ प्रथामा आधारित भएर निर्माण गरिएको यो चलचित्रमा पल शाह र बेनिशा हमालसँगै नीति शाह, अर्जुन जङ्ग शाही, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। निर्माण पक्षले केही दिनभित्रै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu