
काठमाडौं – अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने चलचित्र ‘मैझारो’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छिन्। यसअघि नै अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर मुख्य भूमिकाका लागि चयन भइसकेको यस चलचित्रमा दियाको प्रवेशले कलाकारहरूको सूची थप विस्तार भएको छ। निर्माण पक्षले शनिवार दिया पुनसँग सम्झौता गरेको हो।
निर्देशक राईले कथावस्तुको मागअनुसार दियालाई चलचित्रमा लिएको बताउँदै अन्य कलाकारहरूको चयन प्रक्रिया पनि तीव्र गतिमा भइरहेको जानकारी दिए। ‘मैझारो’ मा धिरज, मिरुना र दिया बाहेकका अन्य कलाकारको नाम भने सार्वजनिक भइसकेको छैन, तर निर्माण युनिटका अनुसार केही दिनभित्रै बाँकी कलाकारहरूको टुङ्गो लाग्नेछ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित हुनेछ। श्रावणको पहिलो साताबाट छायाङ्कन सुरु हुने ‘मैझारो’ लाई इलाम र पाँचथरका मनमोहक स्थानहरूमा खिचिने योजना छ।
चलचित्रको छायाङ्कनको जिम्मेवारी सौरभ लामा ले सम्हालेका छन्।






