‘माग्ने राजा’मा वर्षा सिवाकोटी: फरक भूमिका र सशक्त प्रस्तुतिको अपेक्षा



काठमाडौं – नेपाली रजतपटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेत्री वर्षा सिवाकोटी यति बेला व्यस्त छन्। ‘नाइँ नभन्नू ल २’ बाट अभिनय यात्रा थालेकी वर्षाको आगामी चलचित्र ‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ, जहाँ उनी लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ सँग जोडीका रूपमा देखिँदैछिन्।

यस चलचित्रमा उनले ‘अफर’ आउनासाथ ‘ओके’ गरेकी थिइन्। यस चलचित्रमा जोडिनुको मुख्य कारणबारे वर्षा भन्छिन्, “मलाई चलचित्रको प्रस्ताव आउनासाथ मैले काम गर्न सहमति जनाएँ, किनकि राम्रो टिमसँग काम गर्ने लोभ थियो।” केदार घिमिरेसँग यसअघि ‘छक्का पन्जा ५’ मा सहकार्य गरिसकेकाले पनि आफू ‘माग्ने राजा’ मा काम गर्न राजी भएको उनले स्पष्ट पारिन्। केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेकाले आफू निकै उत्साहित रहेको पनि उनले खुलाइन्।

निर्देशक ऋषि लामिछानेको लामो समयपछिको निर्देशनमा पुनरागमन र लेखक सामीप्यराज तिमल्सेनाको सशक्त पटकथाका कारण चलचित्रमा केही फरकपन हुनेमा आफू विश्वस्त रहेको वर्षाको भनाइ छ।

‘माग्ने राजा’ मा आफ्नो भूमिका सधैँ गरिरहेका चरित्रभन्दा फरक रहेको वर्षाको दाबी छ। उनी भन्छिन्, “कथावस्तु नै फरक छ। मेरो चरित्रबारे उहाँहरूले व्याख्या गर्दाखेरि यस्तो देखिन्छु या देखिन्नँ भन्ने थियो, तर उहाँहरूको सोचअनुसार नै मैले काम गरेकी छु।”

निर्माण पक्षको योजनाअनुसार नै काम भएकाले ‘माग्ने राजा’ सफल हुनेमा आफू ढुक्क रहेको वर्षाले बताइन्। उनले भनिन्, “निर्माता र निर्देशकको योजनाअनुसार नै काम भएको छ। टिम र स्क्रिप्ट राम्रो भएर मात्र हुँदैन, त्यसलाई बजारमा कसरी प्रस्तुत गर्ने भन्ने पनि महत्त्वपूर्ण हुन्छ। हामी व्यावसायिक रूपमा लामो समयदेखि काम गरिरहेकाले त्यो पक्ष पनि सोच्नुपर्ने हुन्छ। उहाँहरूको काम गर्ने तरिका देखेर काम गर्न पनि सजिलो भयो।”

चलचित्रले दर्शकलाई कथावस्तुसँग जोड्न सक्ने वर्षाको भनाइ छ। उनले थपिन्, “अहिलेको वर्तमान अवस्थालाई चित्रण गरेको छ। हाम्रो समाजले निम्न, उपल्लो वर्ग भनेर सिकाएको छ। चलचित्रले सबै वर्गलाई प्रतिनिधित्व गर्छ। अहिलेको राजनीतिक अवस्थालाई पनि यसले केही हदसम्म चित्रण गरेको छ। फिल्मले राजनीति, साथी, परिवार र प्रेमिकासम्बन्धी विषयहरूलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu