
काठमाडौं – विभिन्न विधाका सफल चलचित्रहरू निर्देशन गरेर आफूलाई स्थापित गरिसकेका निर्देशक मिलन चाम्सको आगामी प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा युवा अभिनेता कुन्साङ बमजन अनुबन्धित भएका छन्। ‘वीर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइन्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’, र ‘अञ्जिला’ जस्ता सफल चलचित्रहरू निर्देशन गरिसकेका चाम्सको नयाँ चलचित्रमा काम गर्न पाउनुलाई बमजनले आफ्नो लागि गर्वको विषय बताएका छन्। उनले ‘सुम्निमा’ लाई आफ्नो डेब्यु चलचित्रका रूपमा लिएर पूर्ण समर्पणका साथ काम गर्ने र आफूलाई प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुन लागेको ‘सुम्निमा’ को नामले नारी प्रधान कथाको झल्को दिए पनि निर्देशक चाम्सका अनुसार यो विशुद्ध प्रेमकथा हो। चलचित्रको मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी यसअघि नै अनुबन्धित भइसकेकी छन्। बाँकी कलाकार र प्राविधिक टोली छनोटको प्रक्रियामा रहेको निर्देशक चाम्सले जानकारी दिए। चाम्सका अनुसार, ‘सुम्निमा’ लाई विश्वव्यापी कथावस्तु र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ।
राजीव थापाको लेखन रहेको यस चलचित्रको छायाङ्कन आगामी अगस्ट महिनाबाट लन्डन र नेपालमा गरिने बताइएको छ। निर्देशक चाम्सको पछिल्लो चलचित्र ‘अञ्जिला’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै ब्लकबस्टर व्यापार गरेको थियो। बायोपिक चलचित्रहरूमध्ये ‘अञ्जिला’ ले सर्वाधिक व्यापार गर्ने कीर्तिमान पनि राखेको छ।





