‘जहाजैमा’मा प्रदीपलाई अफर गरिएको भूमिकामा अनुभव अनुबन्धित



काठमाडौं – कृषा चौलागाईँले निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘जहाजैमा’मा प्रमुख भूमिकामा बाल कलाकारको रूपमा चर्चित रहिसकेका अनुभव रेग्मीले अभिनय गर्ने खुलासा भएको छ । हालै निर्माण पक्षले उनीसँग सम्झौता गरेता पनि घोषणा भने गरिएको थिएन । यो खबरलाई फिल्मीखबर डटकमले मङ्गलवार प्रकाशन गरेको हो ।

केही दिनमा अनुभवलाई अनुबन्ध गरिएको खबर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको बेला सूचना बाहिरिएसँगै समाचार प्रकाशन भएको थियो । यसअघि निर्देशक चौलागाईँले अभिनेता प्रदीप खड्कासँगको फोटो शेयर गर्दै ‘जहाजैमा’मा उनी हुनसक्ने सङ्केत गरेकी थिइन् । तर, प्रदीपले भने अभिनयको प्रस्ताव नकारेका थिए । सोही भूमिकामा अब अनुभव अनुबन्ध भएका हुन् ।

खबर अनुसार अनुभवले नेपालमा प्लस टुको पढाई पुरा गरी उच्च शिक्षाको लागि जापान जाने किशोरको भूमिका निभाउनेछन्, जहाँ उनको जोडी जापानी अभिनेत्री रुजेल इचिमिया रहनेछिन् । यस चलचित्रमा अनुभव र रुजेलसँगै सौगात मल्ल, केदार घिमिरे, कर्मा शाक्य, वर्षा सिवाकोटी लगायतको अभिनय रहनेछ ।
यूएनए प्रोडक्सनले निर्माण गर्न लागेको ‘जहाजैमा’को छायाङ्कन आउँदो भदौबाट जापानमा सुरु गरिँदैछ । नेपाल र फिलिपिन्समा पनि फिल्मको छायाङ्कन हुने बताइएको छ । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मका निर्माता उज्ज्वल गुरागाईँ हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu