‘गुन्यो चोलो’को गीतमा नाजिरको अलग अवतार, भदौ १३ गते चलचित्र रिलिज हुने



काठमाडौं – नेपालमा ट्रान्सजेन्डर समुदायको कथालाई पर्दामा उतार्ने प्रयास स्वरूप अभिनेता नाजिर हुसेनले पारालैंगिक महिलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘गुन्यो चोलो’ आगामी भदौ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको पहिलो गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।

भिडियोमा अभिनेता नाजिर हुसेन बेहुलीझैँ सजिएर, पूरै महिलाको भेषमा नृत्य गरिरहेको देखिन्छन्। उनको हाउभाउ र नृत्य शैलीमा महिलापन दुरुस्तै झल्किएको छ, तर अनुहारमा भने गहिरो पीडा भाव स्पष्ट देखिन्छ। यस भूमिकाका लागि नाजिरले करिब १६ केजी तौल घटाएका थिए।

कमल राईको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा नाजिरसँगै सुशील सिटौला, उत्तम केसी, स्व. सानु ताम्राकार, शिशिर राणा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। लेखु सहयात्रीको सङ्गीत तथा शब्द रचना रहेको गीतमा मनीषा पोखरेलको स्वर सुन्न सकिन्छ।

समुन्द्र भट्ट निर्देशित यस चलचित्रमा नाजिरकी आमाको भूमिकामा सञ्चिता लुइँटेल र दिदीको भूमिकामा पत्रकार निशा बजगाईँको अभिनय रहेको छ। उनीहरूसँगै विशाल पहारी र अनुपम श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ। आलोक शुक्लाले छायाङ्कन गरेको यस चलचित्रको पटकथा निर्देशक भट्ट र अभिनेता हुसेनले संयुक्त रूपमा तयार पारेका हुन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu