
काठमाडौं – नेपाली चलचित्र ‘चमेलीको पोइ’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टोलीले रामनवमीको अवसर पारेर आगामी चैत १३ गतेलाई चलचित्र प्रदर्शनको मिति घोषणा गरेको छ।
बुधवार काठमाडौंको नारायणस्थानमा आयोजित एक विशेष कार्यक्रमकाबीच चलचित्रका तीन भिन्न डिजाइनका पोस्टरहरू सार्वजनिक गरिएका हुन्।
सार्वजनिक गरिएका पोस्टरहरूमध्ये एकमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तानिरहेको र अर्कोमा सुरक्षाले बन्दुक भिरेको तथा मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलाबको फूल बोकेको देखिन्छ। तेस्रो पोस्टरमा भने चलचित्रका अधिकांश कलाकारहरूलाई समेटिएको छ, जसमा मुकुनले सुरक्षाको खुट्टा मालिस गरिरहेको दृश्यले दर्शकको ध्यान खिचेको छ।



एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको यो चलचित्रमा मुकुन भुसाल र सुरक्षा पन्तका साथमा नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्।





