
इलाम – चर्चित हास्य कलाकार तथा ‘तक्मेबुढा’ को नामले परिचित विल्सन विक्रम राईले फिचर चलचित्र निर्देशनमा पाइला टेकेका छन्। उनको डेब्यु निर्देशन रहेको चलचित्र ‘मैझारो’ को छायाङ्कन बिहीबारदेखि पूर्वी नेपालको रमणीय जिल्ला इलाममा औपचारिक रूपमा सुरु भएको छ।
यो चलचित्रको कथा, पटकथा र निर्देशन विल्सन विक्रम राई स्वयंले गरेका हुन्। उनले जानकारी दिएअनुसार ‘मैझारो’ ले पूर्वी पहाडी क्षेत्रको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतार्नेछ। यसको छायाङ्कन इलामका विभिन्न स्थानका साथै पाँचथर जिल्लामा समेत गरिनेछ।
‘मैझारो’ मा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुष्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायतका कलाकारहरूको अभिनय रहनेछ।




