
काठमाडौं – नेपालमा दुई दशकभन्दा लामो समयदेखि चलचित्र शिक्षामा अग्रणी भूमिका खेल्दै आएको अस्कर इन्टरनेसनल कलेजले आगामी साउन ४ गते आइतबार एक विशेष फिल्म साक्षरता अभियान सञ्चालन गर्ने भएको छ। कलेज परिसरमै आयोजना हुने यस एक दिवसीय कार्यशालामा चलचित्र निर्माणका विभिन्न पाटाबारे आधारभूत ज्ञान प्रदान गरिनेछ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालका अनुसार, यस अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय र छायाङ्कन लगायतका विधामा सैद्धान्तिक तथा व्यावहारिक जानकारी गराइनेछ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने यस कार्यक्रममा कलेजका विद्यार्थीले निर्माण गरेका केही उत्कृष्ट चलचित्रहरू पनि प्रदर्शन गरिनेछ।
आयोजकले यस कार्यशालामा चलचित्र क्षेत्रमा रुचि राख्ने १०० भन्दा बढी नयाँ पुस्ताका युवाहरूको सहभागिता रहने अपेक्षा गरेको छ। अस्कर कलेजले यसअघि नेपालका १० प्रमुख सहरमा राष्ट्रव्यापी सिनेमा साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरिसकेको छ र यो एक दिवसीय कार्यशाला सोही बृहत् अभियानको निरन्तरताका रूपमा आयोजना हुन लागेको हो।






