जातीय विभेदविरुद्ध चलचित्र ‘जदौ’ बन्ने



काठमाडौं – नेपाली समाजमा गहिरो जरा गाडेको जातीय विभेदको यथार्थलाई पर्दामा उतार्ने लक्ष्यका साथ चलचित्र ‘जदौ’ निर्माणको घोषणा गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्माणको औपचारिक घोषणा गर्दै जातीय विभेदका कारण अन्तरजातीय प्रेम सम्बन्धमा आउने चुनौती र सङ्घर्षको कथालाई प्रमुखता दिइने जानकारी गराइयो।

कार्यक्रमको सुरुवात प्रीति कौरद्वारा लिखित एक मर्मस्पर्शी गीत वाचनबाट भएको थियो, जसले जातीय विभेदका कारण प्रेम जोडीले भोग्नुपरेको पीडालाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो। कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठको प्रस्तुतिले माहौललाई स्तब्ध बनाएको थियो। लगत्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर पङ्क्ति ‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ वाचन गर्दै ‘जदौ’ को शीर्षक अनावरण गरे।

‘जदौ’ को निर्देशनको जिम्मा काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रूपमा सम्हाल्ने भएका छन्। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो फिल्म भदौको पहिलो साताबाट छायाङ्कनमा जानेछ। सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ नेपाली समाजमा व्याप्त जातीय विभेदका वास्तविक घटनाहरूबाट प्रेरित रहेको र यस्ता भेदभावको अन्त्यका लागि आवाज उठाउने दाबी गरिन्।

निर्देशक अञ्जन शर्माले समाजका यथार्थ घटना र जनजीवनलाई मनोरञ्जनात्मक ढङ्गले पर्दामा पस्किने प्रतिबद्धता व्यक्त गरे। लेखक समेत रहेका अर्का निर्देशक काजी लिम्बूले आफूले वर्षौँदेखि देखे भोगेका जातीय विभेदका वास्तविक प्रसङ्गहरूलाई फिल्ममा समेट्ने प्रयास गरिएको र यसले सम्पूर्ण नेपालीको मन जित्ने विश्वास व्यक्त गरे।

चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता मुकुन भुसाल र विनोद न्यौपानेले ‘जदौ’ मा आफूहरूले अहिलेसम्म निर्वाह गरेका भन्दा भिन्न र चुनौतीपूर्ण पात्रमा काम गर्न लागेको बताए। अभिनेत्री नीति शाहले स्क्रिप्ट र टिम निकै मन परेको भन्दै आफू आधुनिक भूमिकामा देखिने र यसका लागि विशेष तयारी गरिरहेको खुलासा गरिन्। अभिनेता प्रभातपालले आफूमाथि सुम्पिएको गहन भूमिकालाई गम्भीरतापूर्वक लिएर तयारी सुरु गरेको र यस फिल्मले आफ्नो करियरलाई उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। डेब्यु गरिरहेकी अभिनेत्री सन्ध्याले वरिष्ठ कलाकारहरूसँग स्क्रिन सेयर गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन्।

चलचित्रमा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठका साथमा ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारहरूको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu