
काठमाडौं- आगामी भदौ १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कोशेढुङ्गा’को नयाँ गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको छ। तीजको माहौलमा रिलिज गरिएको यो गीतले वैवाहिक सम्बन्धका विभिन्न आयाम र अविवाहित जीवनका आकाङ्क्षाहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। यस गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने खेम सेन्चुरीले सङ्गीत तयार पारेका छन्। गीतमा खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर सुन्न सकिन्छ।
गीतले विवाहित महिलाहरूको जीवनका सकारात्मक पक्षहरूलाई चित्रण गरेको छ भने अविवाहित युवतीहरूको जीवनसाथीप्रतिको परिकल्पना र उत्सुकतालाई पनि समेटेको छ। नेपाली तीज गीतको परम्परालाई आत्मसात गर्दै बनाइएको यस गीतको भिडियोमा विवाहित र अविवाहित महिलाहरूले कसरी आफ्नो मनको बह पोख्दै रमाइलो गर्छन् भन्ने देखाइएको छ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको भूमिकामा आफ्नो परिकल्पना र उत्सुकतालाई जीवन्त बनाएका छन्। यता, ऋचा शर्माले विवाहित हुँदाको प्रेम र खुसीलाई अभिव्यक्त गरेकी छिन्। मन्जिल कुमार भने सुरक्षा पन्तको पछि लागेका र सुरक्षा पनि उनीप्रति सकारात्मक रहेको भिडियोमा देख्न सकिन्छ। गीतको आकर्षक डान्स बिट र स्टेपहरूले गर्दा आगामी तीजमा पनि यो गीत लोकप्रिय हुने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक भएसँगै निर्माण पक्षले टिकटक प्रतिस्पर्धा समेत घोषणा गरेको छ। आजैदेखि सुरु भएको यो प्रतिस्पर्धा अगस्ट २० सम्म चल्नेछ। सहभागीले आफ्नो भिडियोमा #नत्रभनेजिन्दगीव्यर्थछ ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। उत्कृष्ट प्रस्तुति दिनेले रु ३० हजार, सबैभन्दा रचनात्मक भिडियोले रु २० हजार र धेरै लाइक पाउने भिडियोले रु १० हजार नगद पुरस्कार पाउनेछन्।
सरोज पौडेलले निर्देशन गरेको ‘कोशेढुङ्गा’ उनको अघिल्लो सफल चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पछि रिलिज हुन लागेको हो। नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्य रहेको यस चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतका कलाकारको अभिनय रहेको छ। दिनेश खड्का कार्यकारी निर्माता रहेको यस चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन्।
नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आउने यो चलचित्रलाई सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ।
गीत:






