
काठमाडौं – निर्देशक चन्द्र पन्तको नयाँ नेपाली चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री सिम्रन पन्त अनुबन्धित भएकी छन्। निर्माण टोलीले सोमबार उनलाई औपचारिक रूपमा भित्र्याएसँगै यस चलचित्रमा उनले अभिनेता पल शाह सँग पर्दामा जोडी बाँध्ने निश्चित भएको छ।
सिम्रनका लागि यो दोस्रो चलचित्र हो। यसअघि उनले ‘होस्टेल ३’ मा आफ्नो अभिनय कौशल प्रदर्शन गरिसकेकी छन्, जहाँ उनको कामको निकै प्रशंसा भएको थियो।
यस चलचित्रमा अनुभवी अभिनेत्री बिपना थापा र दक्षिण भारतीय चलचित्रका चर्चित अनुहार प्रदीप रावत पनि अनुबन्धित भइसकेका छन्। प्रदीप रावत यसअघि निर्देशक चन्द्र पन्तकै अर्को सफल चलचित्र ‘ह्रस्व दीर्घ’ मा अभिनेत्री निता ढुङ्गानाको बुबाको भूमिकामा देखिएका थिए। अब ‘आ बाट आमा’ मा उनी पल शाहको बुबाको भूमिकामा देखिनेछन्।
आर्या इन्टरटेन्टमेन्ट को प्रस्तुति रहेको यो चलचित्र आगामी भदौ महिनाबाट छायाङ्कनमा जाने तयारीमा छ।






