
काठमाडौं – निर्देशक मिलन चाम्सको आगामी प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्। यो सहकार्य चाम्स र शाहीबीचको चौथो पुनर्मिलन हो। यसअघि चाम्स र शाही ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ जस्ता सफल चलचित्रहरूमा एकसाथ काम गरिसकेका छन्।
अभिनेता शाहीले ‘सुम्निमा’ मा आफूले अहिलेसम्म नभोगेको बिलकुलै नयाँ र चुनौतीपूर्ण चरित्र निर्वाह गर्ने बताएका छन्। यसका लागि उनी अहिले गहन तयारीमा जुटेका छन्। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने यो चलचित्रको शीर्षक नारी प्रधान सुनिए पनि, निर्देशक चाम्सले यसलाई विशुद्ध प्रेमकथामा आधारित भएको स्पष्ट पारेका छन्।
‘सुम्निमा’ मा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया भने अझै जारी रहेको निर्देशक चाम्सले जानकारी दिए। राजीव थापाको लेखनमा तयार हुने यो चलचित्रको छायाङ्कन आगामी अगस्ट महिनाबाट लन्डन र नेपालमा गरिने योजना रहेको छ।




