‘जेरी अन टप’को पोस्टरमा त्रिकोणीय प्रेमको झलक



काठमाडौं – आउँदो असोज ३१ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’का एकसाथ तीन पोस्टरहरू सार्वजनिक गरिएको छ। अनन्या फिल्म्स प्रा.ली. ले बिहीबार पोस्टरहरू रिलिज गर्दै चलचित्रको प्रचार-प्रसारको औपचारिक सुरुवात गरेको हो। सार्वजनिक गरिएका पोस्टरहरूमा चलचित्रका मुख्य कलाकारहरू अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ फिचर्ड छन्। एउटा पोस्टरमा अनमोल र जसिता हिमाल आरोहीको भेषमा देखिन्छन्, जसले फिल्मको साहसिक पाटोलाई संकेत गर्छ। अर्को पोस्टरमा भने अनमोल दुवै अभिनेत्रीसँग रोमान्टिक मुडमा देखिएका छन्। यी पोस्टरहरूले ‘जेरी अन टप’मा त्रिकोणात्मक प्रेम सम्बन्धको कथा प्रमुख रहने स्पष्ट संकेत दिएको छ।

सुयोग गुरुङको निर्देशनमा बनेको यस चलचित्रमा अनमोल, आँचल र जसिताका साथै चर्चित हास्य अभिनेता केदार घिमिरे (माग्नेबुढा), अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्कीको पनि अभिनय रहेको छ। विशेषगरी, अनमोलका पिता भुवन केसीले यस फिल्ममा पनि अनमोलको बुबाकै भूमिका निभाएका छन्।

निर्माता सरोज न्यौपानेले पोस्टर सार्वजनिक गर्दै यो केवल सुरुवात मात्र भएको र फिल्मभित्र अझ धेरै सरप्राइजहरू बाँकी रहेको बताएका छन्। उनले ‘जेरी अन टप’ सम्पूर्ण टिमको अथाह मेहनतको प्रतिफल भएकोमा जोड दिए।

‘जेरी अन टप’ को छायांकन सगरमाथा बेसक्याम्प, काठमाडौं र मुस्ताङलगायतका विभिन्न रमणीय स्थलहरूमा गरिएको छ। काठमाडौंका केही दृश्यहरू करिब एक करोड रुपैयाँको लागतमा तयार पारिएको भव्य सेटमा खिचिएको थियो। चलचित्रमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माताको रूपमा छन् भने कथा हेमराज बिसीले लेखेका हुन्। अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माताका रूपमा रहेका छन् भने नविन घिमिरे, विवेक थापा र भविष्य खड्का एसोसिएट निर्माता छन्। कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत रहेको छ। विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu