
काठमाडौं – नेपाली चलचित्र ‘गुन्यु चोलो’को हालै रिलिज भएको गीत ‘म फूल हुँ कि काँडा’ बोलको गीतले भने दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। यो गीतको जति तारिफ भइरहेको छ, त्योभन्दा बढी यसको भिडियोमा अभिनेता नाजिर हुसेनले गरेको नृत्य र अभिनयको चौतर्फी प्रशंसा भइरहेको छ।
दर्शकहरूले युट्युबमा नाजिरको अभिनय कला र क्षमताको खुलेर तारिफ गर्दै उनलाई आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने एउटा दमदार चलचित्रको आवश्यकता रहेको टिप्पणी गरिरहेका छन्। एक दर्शकले युट्युबमा लेखेका छन्, “नाजिर तिमी एक महान् बहुमुखी अभिनेता हौ। उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनू। तिमी एक महान् अभिनेता बन्नेछौ। एउटा मात्र कुरा, विवादहरूबाट सावधान रहनू। मेरो शुभकामना।”
गीतमा नाजिरले पारलैंगिक महिलाको भूमिका निर्वाह गरेका छन्, जुन यति यथार्थपरक छ कि दर्शकले उनलाई चिन्ने समेत सकेका छैनन्। गीत हेरेर कतिपयले “के तिमी साँच्चै नाजिर नै हौ?” भनेर प्रश्न गरेका छन् भने “वाउ, ह्वाट अ पर्फर्मेन्स” जस्ता प्रतिक्रियाले भरिएका छन् कमेन्ट बक्स। रिसभ आले लेख्छन्, “साँच्चै भन्नुपर्दा मैले पूरै भिडियोमा नाजिरलाई चिन्न सकिनँ। दोस्रो पटक हेरेपछि मैले उसलाई चिनेको थिएँ। नाजिरलाई तपाईँको अभिनय र अभिनयका लागि सलाम।”
लेखु सहयात्रीको शब्द रचना र सङ्गीत रहेको ‘म फूल हुँ कि काँडा’ गीतमा मनीषा पोखरेलको स्वर रहेको छ। समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ लैङ्गिक अल्पसङ्ख्यक पारलैंगिक (ट्रान्सवुमन) पात्रको कथामा आधारित छ। यसमा नाजिर हुसेनले नै मुख्य भूमिकामा पारालैंगिक महिलाको चरित्र निभाएका छन्।
नाजिरका साथमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। भदौ १३ गते प्रदर्शनमा आउँदै गरेको यो चलचित्र नेपालको पहिलो पूर्ण ट्रान्स स्टोरीमा बनेको हो।






