
काठमाडौं – चलचित्र ‘मितज्यू’मा चर्चित अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। निर्देशक अनिल बुढा मगरको नयाँ प्रोजेक्टमा सौगातको आगमनसँगै निर्माण टिमले आफ्नो कलाकार सूचीलाई थप सशक्त बनाएको घोषणा गरेको छ। बिहीबार औपचारिक रूपमा गरिएको यो सम्झौताले चलचित्र वृत्तमा नयाँ तरङ्ग ल्याएको छ।
यसअघि नै ‘मितज्यू’ का लागि अभिनेता दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने अनुबन्ध भइसकेका थिए। सौगात मल्लको प्रवेशसँगै दयाहाङ र सौगातको शक्तिशाली जोडी पुनः पर्दामा देखिने भएपछि दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता झनै चुलिएको निर्माण पक्षको भनाइ छ। निर्देशकका अनुसार चलचित्रका अन्य कलाकारहरूलाई पनि छिट्टै अन्तिम रूप दिने कार्य जारी छ।
महेश राईले कथा लेखेको यो चलचित्रलाई हिट चलचित्र ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगरले निर्माण गर्दैछन्। निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरबीच यो दोस्रो सहकार्य हो।
मङ्सिरमा छायाङ्कन हुने ‘मितज्यू’ लाई यसै वर्ष चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।




