
काठमाडौं – मनोवैज्ञानिक थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को फर्स्ट लुक सार्वजनिक भएको छ। फर्स्ट लुकमा चलचित्रका पात्रहरू गहिरो मनोवैज्ञानिक तनावमा देखिन्छन्। मुख्य तीन कलाकारहरू बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठलाई प्रस्तुत गरेको छ। तीनै जना तनावपूर्ण र भयभीत मुद्रामा छन्। विशेष गरी, क्रोधित भावमा देखिएकी सृष्टि श्रेष्ठको हातमा रगत लतपतिएको बन्चरो देख्न सकिन्छ।
पोस्टरसँगै यसको भिडियो पनि सार्वजनिक गरिएको छ, जसको सुरुवात बुवाको मृत्यु भएको डरलाग्दो सपना देखेकी छोरीले बुवालाई सुनाएको दृश्यबाट हुन्छ। बुवाले छोरीलाई सपनामा मरेको मान्छेको आयु लामो हुन्छ भन्दै डरबाट बाहिर निकाल्ने प्रयास गर्छन्। त्यसपछि कमजोर महसुस गरेर कठोर र साहसी बन्न हतियार बोकेर हिँडेकी युवती र अर्की चाल सुनिरहेकी युवति बीचको भय र त्यसलाई जित्ने प्रयास देखाइएको छ। यसले चलचित्र पूर्ण रूपमा मनोवैज्ञानिक थ्रिलर रहेको पुष्टि गर्छ।
‘द ब्ल्यू लाइट’ आउँदो मङ्सिर १२ गते रिलिज हुने तयारीमा छ। यसको निर्देशन बलिराम चौहानले गरेका हुन्।
भिडियो:




