
काठमाडौं – कलाकार केदार घिमिरे, ‘माग्ने बुढा’ को नामले परिचित, आफ्नो नयाँ चलचित्र ‘माग्ने राजा’ मार्फत दर्शकमाझ बिल्कुलै फरक अवतारमा प्रस्तुत हुने भएका छन्। हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ ले यो कुराको सङ्केत दिएको छ, जसले टिजर र यसअघिका लोकगीतमा देखिएको उनको परम्परागत छविभन्दा भिन्न रूप प्रस्तुत गरेको छ।
निर्देशक ऋषि लामिछानेका अनुसार चलचित्रको कथावस्तु यसै गीतको ‘फेन्टासी’ वरिपरि घुमेको छ र गीतमा देखिएको माग्ने बुढाको स्वरूप नै चलचित्रको मुख्य आकर्षण हो। “टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई उहाँको पुरानो छविमै राखेका थियौँ, जसले गर्दा कतिपय दर्शकलाई चलचित्र पुरानै शैलीमा त छैन भन्ने शङ्का लागेको हुन सक्छ,” निर्देशक लामिछानेले भने, “तर यो गीतसँगै हामी चलचित्रको मूल मुद्दामा प्रवेश गरेका छौँ। दर्शकले केदार घिमिरेलाई पूर्ण रूपमा नयाँ अवतारमा देख्न सक्नुहुनेछ।” यद्यपि, निर्देशकले चलचित्रले आफ्नो कमेडी शैलीलाई भने नछाडेको स्पष्ट पारे।
निर्माता मुनाल घिमिरेले चलचित्रले दर्शकलाई हँसाउनुका साथै समसामयिक सामाजिक मुद्दाहरूलाई पनि गहिरो रूपमा प्रस्तुत गर्ने प्रयास गरेको बताए। प्रचार सामग्रीले पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित मुनाल भन्छन्, “हाम्रो चलचित्रमा सस्तो हाँसो मात्र छैन। हामीले हँसाउँदा हँसाउँदै देशका समस्या र नागरिकका रूपमा ती समस्याको सम्भावित समाधान पनि सुझाएका छौँ। चलचित्र प्रदर्शनमा आएपछि यसले समाजमा एउटा नयाँ बहस सिर्जना गर्नेछ भन्नेमा हामी विश्वस्त छौँ।”
निर्माण घोषणा भएदेखि नै चर्चामा रहेको ‘माग्ने राजा’ को प्रदर्शन मिति नजिकिँदै गर्दा यसका प्रचार सामग्रीहरूले दर्शकको उत्साह बढाइरहेका छन्। पोस्टर रिलिजसँगै आक्रामक प्रचारप्रसारमा उत्रिएको यस चलचित्रले हालसम्म दुई गीत र एउटा टिजर सार्वजनिक गरिसकेको छ। एउटा गीतले मध्यम प्रतिक्रिया पाए पनि टिजर र हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ ले भने दर्शकबाट उल्लेख्य माया पाएका छन्।
चलचित्रको टिजरले हालसम्म १२ लाख हाराहारी भ्यूज प्राप्त गरिसकेको छ भने ५ दिनअघि सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ ले छोटो समयमै २१ लाख भ्यूज कटाएर चलचित्रलाई थप प्रतीक्षित बनाएको छ। पैसालाई केन्द्रमा राखेर तयार पारिएको यस गीतको मेलोडी र शब्दले दर्शकको मन जितेको छ, जसका कारण यो गीत यति बेला टिकटकमा पनि भाइरल बनिरहेको छ। गीतका टुक्राहरूमा बनेका रचनात्मक टिकटक भिडियोहरूले सामाजिक सञ्जालमा लोकप्रियता बटुलिरहेका छन्।
ऋषि लामिछाने निर्देशित यो चलचित्र भदौ ६ गते देशभर प्रदर्शनमा आउँदैछ। मुनाल घिमिरेको निर्माणमा बनेको यस चलचित्रमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। नरेन्द्र मैनालीको छायाङ्कन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको सङ्गीत रहेको यस चलचित्रको कथा सामीप्य राज तिमल्सेनाले लेखेका हुन्।





