
काठमाडौं – अभिनेत्री तथा निर्मात्री निता ढुङ्गाना अधिकारीले निर्देशन गर्न लागेको चलचित्र ‘सुख दुःख’मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छिन्। आइतबार निर्माण पक्ष र शर्माबीच औपचारिक सम्झौता भएको हो।
शर्मालाई चलचित्रमा भित्र्याएपछि उत्साहित हुँदै निर्देशक ढुङ्गानाले भनिन्, “चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा हामी निकै उत्साहित छौँ। सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो, अब पूर्ण हुने बाटोमा जाँदैछ।”
यसअघि, यो चलचित्रका लागि चर्चित भारतीय छायाकारद्वय कबीरलाल र शाहिदलाल डीओपीका रूपमा अनुबन्ध भइसकेका छन्। यद्यपि, चलचित्रका मुख्य कलाकारका बारेमा भने निर्माण पक्षले कुनै जानकारी सार्वजनिक गरेको छैन। निताले केही साताभित्रै मुख्य कलाकारको नाम घोषणा गर्ने बताएकी छिन्।
निता फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘सुख दुःख’ निता ढुङ्गानाको निर्देशकीय डेब्यु चलचित्र हुनेछ।




