
काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को निर्माण पक्षले दुई पोस्टर सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक यी पोस्टरले चलचित्रका मुख्य पात्रहरूको जीवनमा आउने खुसी र तनावको दुई भिन्न पाटोलाई एकसाथ उजागर गरेका छन्।
दुई पोस्टरमध्ये पहिलोमा चलचित्रका मुख्य पाँच कलाकारहरू प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन्। यो पोस्टरमा किरणबाहेक सबै कलाकारहरू तनावग्रस्त मुद्रामा देखिएका छन्। पोस्टरमा एकजना पात्रलाई हतकडी लगाएर प्रहरी हिरासतमा सोधपुछ भइरहेको दृश्य देखाइएको छ।
अर्को पोस्टरमा भने मुख्य कलाकार कामेश्वर चौरासिया र लक्ष्मी बर्देबालाई खुसी मुद्रामा प्रस्तुत गरिएको छ। कुनै मन्दिरमा आरती गरिरहेको अवस्थामा देखाइएका उनीहरूको अनुहारमा सन्तोष र प्रेम झल्किएको छ।
विनोद पौडेल र गुञ्जन गिरीद्वारा निर्मित ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपालभर प्रदर्शनमा आउँदैछ। चलचित्रले पैसाको लोभमा परी एउटा जटिल चक्रव्यूहमा फस्ने र त्यसबाट उम्कने प्रयास गर्ने एक व्यक्तिको संघर्षमय कथा प्रस्तुत गर्ने बताइएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यस चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।




