काठमाडौं – चर्चित हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टिमले निर्माण गर्ने नयाँ नेपाली चलचित्र ‘ककाकिकी…’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सोमवार निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले चलचित्रको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसको घोषणा गरेका हुन्।
पोस्टरमा प्रमुख चार पात्रहरूलाई आक्रोश, अचम्म र हास्य मिश्रित मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरमा देखिएका कलाकारहरूमा गम्भीर हास्यभाव देखिने पुरुष पात्रसँगै अभिनेत्री तृप्ति नाडकर, रेखा थापा, गौरी मल्ल र महेश त्रिपाठी रहेका छन्। यो चलचित्रबाट ‘कुसुमे रुमाल’ फेम्ड अभिनेत्री तृप्ति नाडकरले कमब्याक गर्दैछिन्। नाडकरले पछिल्लो पटक सन् २०११ मा रिलिज भएको चलचित्र ‘मेरो लभ स्टोरी’मा अभिनय गरेकी थिइन्।

पोस्टर शेयर गर्दै निर्देशक अग्रवालले लेखेका छन्, “केही शब्द संसारकै सबैभन्दा भाग्यमानी व्यक्तिको तर्फबाट जसले आफ्नो फिल्मी करिअरको सुरुआत नै अग्रजहरूसँग सहकार्य गर्ने उत्कृष्ट अवसर पाएको छ।” उनले ‘कमेडी दरबार’ टिम अब टेलिभिजन मात्र नभई सिनेमा हलसम्म दर्शकको हाँसो ल्याउने उद्देश्यमा अघि बढेको उल्लेख गर्दै भनेका छन्, “सबैले भन्छन् कि हाम्रो फिल्म अरूभन्दा फरक छ, तर यो फिल्मले कमेडीको फरक स्वाद अवश्य दिन्छ भन्ने दृढ आशा छ।”
श्रद्धा प्रसाईँ र सुमित्रा थापाले निर्माण गर्ने यस चलचित्रमा निर्देशकद्वयकै कथा र परिकल्पना रहेको छ भने ‘कमेडी दरबार’ टिमले चलचित्रलाई हास्यरसले भरिपूर्ण बनाएको जनाइएको छ। चलचित्रमा विशेष उपस्थितिका रूपमा प्रकाश पौडेल, ओमकार अदी, अंश बुढाथोकी लगायतका कलाकार पनि देखिनेछन्। यस चलचित्रलाई विकास अर्याल, सरोज भण्डारी र बिक्की अग्रवालले संयुक्त लेखन गरेका छन्। चलचित्रको पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले सम्हालेका छन्।
सिक्किमको सानो गाउँबाट सुरु भएको बिक्की अग्रवालको यात्रा यस चलचित्रमार्फत मुख्यधारको नेपाली चलचित्र उद्योगसम्म पुगेको छ। यस यात्रामा आफूलाई साथ दिने सबैप्रति आभार प्रकट गर्दै उनले लेखेका छन्, “मेरो सम्पूर्ण ‘कमेडी दरबार’ टिम, हामीमाथि विश्वास गर्नुहुने आदरणीय गौरी दिदी, रेखा दिदी, तृप्ति दिदी, महेश दाइ र बिर्सन नहुने ओमप्रकाश दाइप्रति विशेष आभार व्यक्त गर्दछु। साथै, मेरो प्यारो परिवार, श्रद्धा प्रसाईँ र आमाको अमूल्य आशीर्वादप्रति पनि सदैव कृतज्ञ छु।”




