
काठमाडौं – निर्देशक मिलन चाम्सको आगामी प्रेम कथानक चलचित्र ‘सुम्निमा’ मा नयाँ अनुहार अनिकेत पाख्रिन लामाले मुख्य भूमिकामा डेब्यु गर्ने भएका छन् । भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ को १४ औँ सिजनका उत्कृष्ट आठ प्रतिस्पर्धीमध्येका एक अनिकेतलाई अडिसनमार्फत छनोट गरिएको निर्देशक चाम्सले जानकारी दिए ।
अनिकेतको आत्मविश्वास, आकर्षक व्यक्तित्व र क्यामेरासामु सहज प्रस्तुतिले निर्माण टोलीलाई प्रभावित पारेको निर्देशक चाम्सले बताए । ‘गोर्खा फिल्म्स’ र ‘चाम्स इन्टरटेन्मेन्ट’ को संयुक्त ब्यानरमा बन्ने ‘सुम्निमा’ विशुद्ध प्रेमकथामा आधारित हुनेछ । यद्यपि, शीर्षकले नारी प्रधान चलचित्रको झल्को दिए पनि यसको कथा प्रेम, द्वन्द्व र सांस्कृतिक परिवेशमा केन्द्रित रहने चाम्सको भनाइ छ ।
यसअघि नै अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुपविक्रम शाही चलचित्रका लागि अनुबन्धित भइसकेका छन् । अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट कार्य भने जारी रहेको निर्माण पक्षले जनाएको छ ।
राजीव थापाको लेखन रहेको यस चलचित्रको छायाङ्कन आगामी अगस्ट महिनादेखि लन्डन र नेपालमा सुरु हुनेछ । निर्देशक चाम्सको पछिल्लो बायोपिक चलचित्र ‘अञ्जिला’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्दै नेपाली बायोपिक विधामा नयाँ आयाम थपेको थियो ।






