चर्चामा चलचित्रको ‘कोशेढुङ्गा’को तीज गीत



काठमाडौं – आगामी भदौ १२ गते प्रदर्शनमा आउने चलचित्र ‘कोशेढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीतले यति बेला श्रोता तथा दर्शकमाझ चर्चा पाइरहेको छ। सार्वजनिक भएको केही समयमै यो डान्सिङ नम्बरले टिकटक, युट्युब र फेसबुकलगायतका सामाजिक सञ्जालमा व्यापक लोकप्रियता बटुलेको हो।

निर्देशक सरोज पौडेलका अनुसार, तीजको थिममा आधारित यस गीतमा हालसम्म २० हजारभन्दा बढी टिकटक भिडियोहरू बनिसकेका छन्। युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको यो गीतलाई फेसबुकमा ७० लाखभन्दा धेरै दर्शकले हेरेको उनले जानकारी दिए। “हामीले नेपाली संस्कृति झल्काउने र सभ्य प्रस्तुतिसहितको गीत दर्शकमाझ ल्याएका थियौँ,” पौडेलले भने, “हाम्रो अपेक्षा अनुसार नै दर्शकले यसलाई अत्यधिक मन पराउनुभएको छ र दैनिक हजारौँ नयाँ भिडियोहरू बनिरहेका छन्।”

नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको सङ्गीत रहेको यस गीतमा सेन्चुरीसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर सुन्न सकिन्छ। तीजको माहौलमा प्रस्तुत गरिएको यो गीतले वैवाहिक जीवनको सुन्दर पक्ष र अविवाहितहरूको जीवनसाथीप्रतिको परिकल्पना र उत्सुकतालाई निकै आकर्षक ढङ्गले देखाएको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुरक्षा पन्त र नीति शाहले अविवाहितहरूको प्रतिनिधित्व गर्दै आफ्नो कल्पना प्रस्तुत गरेका छन् भने ऋचा शर्माले विवाहित जीवनको प्रेममय पाटोलाई उजागर गरेकी छिन्।

गीतको लोकप्रियतालाई अझ बढाउन निर्माण पक्षले टिकटक प्रतियोगिताको घोषणा गरेको छ। यो प्रतियोगिता अगस्ट २० सम्म खुल्ला रहनेछ। सहभागीहरूले ‘#नत्रभनेजिन्दगीव्यर्थछ’ ह्यासट्याग प्रयोग गरी भिडियो बनाउनुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिलाई ३० हजार, सबैभन्दा सिर्जनात्मक भिडियोलाई २० हजार र सबैभन्दा धेरै लाइक पाएको भिडियोलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

नरदेवी फिल्मसको प्रस्तुति र सारङ्गी फिल्मस्को सहकार्यमा निर्माण भएको यस चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ। प्रेविल कँडेल र किशोर अनुराग निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन्।

यो चलचित्र नेपालसहित विश्वका ४२ भन्दा बढी देशहरूमा एकसाथ प्रदर्शनमा आउने बताइएको छ। प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले यस चलचित्रको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu