‘सक्किगोनि’का पाँडेको निर्देशनमा बन्ने चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त



काठमाडौं – प्रसिद्ध टेलिभिजन हास्य शृङ्खला ‘भद्रगोल’ र ‘सक्किगोनि’का निर्माता तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले चलचित्र निर्देशनमा डेब्यु गरेका छन्। उनले आज साउन १५, खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरेका हुन्।

‘झरीपछिको इन्द्रेणी’मा ‘सक्किगोनि’ टिमबाट प्रियाना आचार्य (मुन्नी) मात्र समावेश छिन्। मुहूर्त समारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्देशक पाँडेले कथाले मागेमा अन्य कलाकारहरू पनि थपिन सक्ने बताए। यस चलचित्रबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा पुनरागमन गर्दैछन्। एक राम्रो टिमबाट कमब्याक गर्न पाउँदा आफू निकै उत्साहित रहेको कलाकार उप्रेतीले बताए।

चलचित्रमा गणेश उप्रेती र प्रियाना आचार्यका साथै निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारहरूको अभिनय रहनेछ। अर्जुन घिमिरे ‘पाँडे’ले यसमा अभिनय गर्ने वा नगर्ने भन्नेबारे खुलाइएको छैन। शुभमुहूर्तसँगै आजैबाट छायाङ्कन सुरु भएको यो चलचित्र काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा खिचिनेछ।

पारिवारिक कथावस्तुमा आधारित यस चलचित्रको छायाङ्कन तालिका ४५ दिनको राखिएको छ। चलचित्रको कथा कुमार व्यञ्जनकार (कुमार बेन) ले लेखेका हुन् भने पटकथा अर्जुन घिमिरे र विशाल घिमिरेले तयार पारेका छन्।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रलाई बुद्ध थापाले छायाङ्कन गर्नेछन् भने सुशील कडरियाको लगानी रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले समेत गीत रचना गरेको यस चलचित्रको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप रहने बताइएको छ। चलचित्रको शुभमुहूर्त समारोहमा मेयर बालेनकी पत्नी सविना काफ्लेको पनि उपस्थिति थियो र उनले चलचित्रको सफलताको शुभकामना दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu