
काठमाडौं – नेपालको कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई गहिराइमा केलाउने उद्देश्यका साथ नयाँ नेपाली चलचित्र ‘रेलको बाटो’ निर्माण हुने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने यस चलचित्रको कथा र निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।
निर्माण टोलीले औपचारिक घोषणा गर्दै चलचित्रको थिमसहितको पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा डोकोमा बोकिएकी बिरामी महिला छन्। “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट र त्यसमुनि “प्रधानमन्त्रीज्यूलाई स्वागत छ” लेखिएको ब्यानरले कर्णाली क्षेत्रलाई केवल ‘दर्शनीय प्रयोगशाला’ का रूपमा हेरिएको हो कि भन्ने गम्भीर प्रश्न उठाएको छ। यो दृश्यले राज्यको उपेक्षा र कर्णालीवासीको निरीहतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। पोस्टरमा “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” भन्ने मार्मिक वाक्यले राज्यको बेवास्ताप्रति कर्णालीवासीको गहिरो भावनात्मक र राजनीतिक असन्तुष्टिलाई प्रस्ट पार्छ।
चलचित्रमा सङ्गीत सुरज पण्डितले दिनेछन् भने छायाङ्कन निसाल पौडेलले गर्नेछन्। नागेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको यस चलचित्रको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ।
निर्देशक सुनारका अनुसार, चलचित्रले सामान्य नागरिकको सङ्घर्ष, श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा आउने उतारचढाव, र राजनीतिक बेवास्ताका कारण सिर्जित समस्याहरू लाई मुख्य कथानक बनाउनेछ।
चलचित्रको छायाङ्कन यसै वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लाहरूमा गरिनेछ र यसलाई वि.सं. २०८३ मा प्रदर्शनमा ल्याउने योजना रहेको छ।




