
काठमाडौं – आगामी भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण पक्षले आज सार्वजनिक गरेको यस पोस्टरमा चलचित्रका मुख्य ६ पात्रहरूलाई चित्रण गरिएको छ, जसमध्ये अग्रस्थानमा कलाकार कामेश्वर चौरासिया मुस्कुराएको मुद्रामा देखिन्छन्। लामो कपाल र दाह्रीमा सजिएका चौरासियाको अनुहारमा देखिएको खुसीले उनको भूमिकाबारे कौतुहलता उत्पन्न गराएको छ।
पोस्टरमा अन्य कलाकारहरू शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देवा र सरिता गिरी पनि समावेश छन्। तर, प्रकाश, गौमाया र लक्ष्मीको अनुहारमा भने केही तनाव र अन्योलको भाव झल्किन्छ, जसले चलचित्रको कथामा खुसी र तनावको द्वन्द्व रहने सङ्केत गर्छ।
यसअघि सार्वजनिक भएका पोस्टरहरूमा जस्तै, यस पोस्टरमा पनि सरकारी कार्यालयको उपस्थिति देख्न सकिन्छ। विशेष गरी, जिल्ला कारागार मोरङ स्पष्ट रूपमा पोस्टरमा झल्किन्छ भने अर्को एक सरकारी कार्यालय पनि अस्पष्ट रूपमा देखिएको छ। पोस्टरमा गरिएको रङ्ग संयोजन र कलाकारहरूको भावभङ्गीमाले साहस, तनाव र अस्तव्यस्तता को सङ्केत गर्छ। यो सबै केका लागि हो भन्ने कुरा स्पष्ट नभए पनि, यसलाई पैसा, सम्बन्ध, वा विश्वाससँग जोडेर हेर्न सकिने अनुमान लगाउन सकिन्छ।
‘अभिमन्यु : च्याप्टर–१’ ले पैसाको प्रलोभनमा परेर चक्रव्यूहमा फसेको र त्यसबाट उम्कने प्रयास गर्ने एक व्यक्तिको सङ्घर्षपूर्ण कथा प्रस्तुत गर्ने बताइएको छ। चलचित्रको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङदेल, किरण श्रेष्ठ, प्रकाश दाहाल, र सुष्मा निरौला रहेका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्र सुशान्त गौतम को डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको यस चलचित्रमा मदन थापा क्रिएटिभ निर्देशकको भूमिकामा छन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको यस चलचित्रमा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता छन्। विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रङ्ग संयोजन र मदन घिमिरे सम्पादक रहेका छन्। ‘अभिमन्यु’ मा शरद महतोले छायाङ्कन गरेका छन्।
यसको नेपाली भर्सन भदौ २७ गते प्रदर्शनमा आउनेछ भने यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।




