
काठमाडौं – लैङ्गिक पहिचानको अन्तर्द्वन्द्व र सामाजिक चुनौतीको मार्मिक कथा प्रस्तुत गर्ने चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ। भदौ १३ गते रिलिज हुने तयारीमा रहेको यो चलचित्रले एक तेस्रोलिंगी महिलाले आफ्नो अस्तित्व स्थापित गर्न गरेको सङ्घर्षलाई पर्दामा उतारेको छ।
ट्रेलरमा मुख्य पात्रको रूपमा नाजिर हुसेनलाई देखाइएको छ, जसले पारालैंगिक (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन्। ट्रेलरले सानैदेखि महिलाको पहिरन मन पराउने छोरालाई उनका बुबाले ‘लाउरे’ बनाउन गरेको जबरजस्ती र त्यसबाट उत्पन्न भएको मानसिक द्वन्द्वलाई केलाएको छ। आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छाड्न गरेको निर्णय र यस क्रममा परिवार, समाज र आफन्तबाट उनले भोगेका तनावलाई ट्रेलरले सशक्त रूपमा चित्रण गरेको छ।
समूह भट्टको निर्देशन रहेको यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो। यसमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीजस्ता कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ।
आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी रहेको यस चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको ‘बफेलो एट्ले’ले खरिद गरेको छ। यस चलचित्रको कार्यकारी निर्मातामा जेफ्री जे वेन र स्टिभ जोन्स्टन रहेका छन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन्। ‘गुन्यु चोलो : द ड्रेस’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा पनि छनोट भएको थियो।
ट्रेलर:





