‘झिँगेदाउ २’को गीतमा शान्तिश्री र वसन्तको स्वर, छायाङ्कन दसैँ-तिहारपछि हुने



काठमाडौं – निर्देशक ज्ञानेन्द्र देउजाको आगामी चलचित्र ‘झिँगेदाउ २’ को निर्माण प्रक्रिया सुरु भएको छ। हालै चलचित्रका लागि एउटा गीत रेकर्ड गरिएको छ, जसमा पछिल्लो समय चर्चामा रहेकी गायिका शान्तिश्री परियार र गायक वसन्त थापाले स्वर दिएका छन्। बुधवार रेकर्ड भएको ‘आजलाई नाइँ नभन’ शीर्षकको गीतमा सङ्गीतकार अर्जुन पोखरेलको शब्द, सङ्गीत र एरेन्ज रहेको छ। यो गीतले थापा र पोखरेललाई पहिलो पटक सँगै ल्याएको छ। गायक थापाले यसअघि ‘छ माया छपक्कै’ चलचित्रमा पार्श्व गायन गरेका थिए।

निर्देशक देउजाका अनुसार, ‘झिँगेदाउ’ को सफल गीत ‘आगो बिना बिँडी जल्दैन’ मा सहकार्य गरेका गायिका परियार र सङ्गीतकार पोखरेललाई उनले ‘लक्की चार्म’ का रूपमा पुनः ‘झिँगेदाउ २’ मा पनि समावेश गरेका हुन्। निर्माण टिमले आगामी १० दिनभित्र चलचित्रको प्रि-प्रोडक्सनका सम्पूर्ण काम सक्ने र दसैँ-तिहार लगत्तै छायाङ्कनमा जाने तयारी गरेको छ।

निर्देशक देउजाले यो चलचित्र पूर्ण रूपमा अघिल्लो भागको सिक्वेल भएको बताएका छन्। यसको कथावस्तु अघिल्लो भाग जहाँ टुङ्गिएको थियो, त्यहीँबाट सुरु हुनेछ। चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट लगायत अघिल्लो भागका धेरैजसो कलाकारहरूको निरन्तरता रहनेछ। यसका साथै, चलचित्रमा एक नयाँ अभिनेता र एक नयाँ अभिनेत्रीको पनि प्रवेश हुनेछ।

कपनगढी सिनेमा प्रालि को ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माताहरू सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन्। चलचित्रमा विष्णु कल्पितको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डी गुरुङको सम्पादन रहनेछ। यसको प्रोडक्सन हेडको जिम्मेवारी ईश्वर घिमिरेले सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu