काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा वरिष्ठ कलाकार हरिवंश आचार्यलाई एकल रूपमा प्रस्तुत गरिएको छ। हरिवंश आचार्यद्वारा जीवन्त बनाइएको “हरिबहादुर” पात्र नेपाली टेलिभिजन दर्शकमाझ अत्यन्त लोकप्रिय छ, र यही चरित्रको झल्को दिने शैलीमा तयार पारिएको यो पोस्टरलाई शान थापा र विजय बस्यालले डिजाइन गरेका हुन्।

दसैँको फूलपाती, अर्थात् असोज १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो। सरोज ओली र मोहितबंश आचार्य निर्माता रहेका यस चलचित्रमा कृष्ण बहादुर थापाले छायाङ्कन र नकुल खड्काले सम्पादन गरेका छन्।
यसमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको सङ्गीत सुन्न पाइनेछ भने आशिष अविरल, समीक्षा अधिकारी, मोहितबंश आचार्य, समीर खरेल र सज्जा चौलागाईको स्वर रहेको छ।






