
काठमाडौं – आगामी भदौ २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘चिठ्ठी’ को नयाँ गीत ‘सिन्दूरको रङ्ग’ काठमाडौंमा एक विशेष समारोहका बिच सार्वजनिक गरिएको छ। कार्यक्रममा सञ्चारकर्मी र चलचित्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई माधव राज खरेलले निर्देशन गरेका हुन्। कुवेर डिस्टिब्युटर्स प्रालिले देशभर वितरण गर्न लागेको ‘चिठ्ठी’ हरर र कमेडीको फ्युजनमा बनेको फिल्म हो।
सार्वजनिक गरिएको ‘सिन्दूरको रङ्ग’ गीत फिल्मको एक महत्त्वपूर्ण र भावनात्मक पक्ष रहेको निर्माण पक्षले जनाएको छ। गीतले विवाह, विश्वास र समर्पणको भावलाई प्रस्तुत गर्दै नारीको मौन सङ्घर्ष र पतिको लागि उनको अटुट आस्थालाई दर्साएको छ। यो गीतको शब्द सञ्चारकर्मी कमला जोशीले लेखेकी हुन् भने सरोज कोइरालाले सङ्गीत दिएका छन्। यसमा गायिका बेनिशा पौडेलको कर्णप्रिय स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा अभिनेता संजीत भण्डारी र अभिनेत्री कञ्चन चालिसेको अभिनय देख्न सकिन्छ। साथै, स्वयं गायिका पौडेल पनि भिडियोमा गायिकाकै रूपमा प्रस्तुत भएकी छन्।
चलचित्र ‘चिठ्ठी’ को कथा युट्युब पत्रकार, भूमाफिया, मानसिक रोगी र एउटा अदृश्य आत्माबिचको द्वन्द्वमा आधारित रहेको बताइएको छ। सामाजिक यथार्थता, निकायगत विकृति, मानवीय प्रवृत्ति र पारिवारिक भावनालाई समेटेर निर्माण गरिएको यो फिल्मले दर्शकहरूलाई समसामयिक सन्देशका साथै फरक स्वाद दिने उद्देश्य राखेको छ।
चलचित्रमा खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रबण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मि भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रह्लाद खरेल, डेभिल सिंह राजपूत, समीर लामा, राजु कार्की र रज्जु गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मकी निर्माता कमला जोशी हुन् भने छायाङ्कन जीवन पराजुली र राजन खरेलले गरेका छन्।
राजेश कुमारले सम्पादन गरेको चलचित्रको भीएफएक्स समीर मियाँले गरेका छन्। चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन रहेको छ भने ब्याकराउन्ड स्कोर पुष्कर खत्रीले तयार पारेका हुन्।
गीत:





