काठमाडौं – नेपाली समाजको मौलिक परम्परा र संस्कृतिमा आधारित नयाँ चलचित्र ‘रत्यौली’ निर्माण हुने भएको छ। वैवाहिक संस्कारमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीतबाट प्रेरित भई यस चलचित्रको नाम राखिएको छ, जसले यसलाई एक सांस्कृतिक कथानक चलचित्रको रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
यस चलचित्रको निर्माणबाट चर्चित मोडल रञ्जन रिजालले चलचित्र निर्माणमा डेब्यू गर्दैछन्। दुई दशक अगाडिदेखि म्युजिक भिडियोमा मोडलका रूपमा काम गर्दै आएका रिजालले सयौँ भिडियोमा अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाएका छन्। उनी यो चलचित्रका प्रस्तुत कर्ता पनि हुन्।

‘नाइँ नभन्नु ल ३’ र ‘समर लभ’ जस्ता चलचित्र निर्देशन गरिसकेका मुस्कान ढकालले यस चलचित्रको निर्देशन गर्नेछन्। यस पटक उनी विशुद्ध पारिवारिक र सांस्कृतिक कथामा आधारित चलचित्र लिएर आउँदै छन्।
नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको संयुक्त लगानी रहेको छ। यसको छायाङ्कन आगामी तिहार लगत्तै सुरु हुनेछ। चलचित्रको शीर्षक सार्वजनिक गर्दै निर्माण टोलीले कलाकार छनोट र प्राविधिक तयारीका कामहरू तीव्र रूपमा अगाडि बढाएको जनाएको छ।






